November 30, 2022

देशले नयाँ र सक्षम नेतृत्व खोजेको छ, युवाले सक्छन् भन्ने विश्वास छैन : शेखर कोइराला

1 min read

नेपाली कांग्रेसका नेता एवम् मोरङको ६ बाट नवनिर्वाचित सांसद् डा. शेखर कोइरालाले मुलुकले नयाँ नेतृत्व खोजिरहेको उल्लेख गर्दै नेतृत्वमा युवा नै आवश्यक नभएको बताएका छन् ।

काठमाडौं ४ बाट नवनिर्वाचित सांसद् गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका लागि दाबी गरिरहेका बेला कोइरालाले नेतृत्वमा युवा नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएका हुन् ।

विराटनगरस्थित आदर्श विद्यालयको निर्वाचन कार्यालयमा निर्वाचित भएपछिको प्रमाणपत्र ग्रहण गरेपछि स्थानीय संवाददातालाई कोइरालाले भने, ‘देशले नयाँ र सक्षम नेतृत्व खोजेको छ । यसमा युवाले मात्र सक्छन् भन्ने मलाई विश्वास छैन । पाका नेता पनि त्यत्तिकै सक्षम छन् भन्ने सबैले बुझ्नुपर्छ ।’

उनले यस पटकको निर्वाचनको मुख्य मुद्दा नै दण्डहीनताको अन्त्य, सुशासन र भ्रष्टाचार न्यूनीकरण भएको बताए । उनले आगामी सरकारले दण्डहीनताको अन्त्य गर्न नसके अनि सुशासन र भ्रष्टाचार न्यूनीकरण नगरे कांग्रेस पार्टीले संसददेखि सडकसम्म नछाड्ने चेतावनी दिए ।

उनले विकास बिना सुशासन र सुशासन बिना विकास सम्भव नहुने जिकिर गर्दै आफ्नो पूर्ण ध्येय र चेष्टा सुशासनमै केन्द्रित हुने दोहोर्‍याए । उनले यस पटकको निर्वाचनमा परम्परागत दल प्रति वितृष्णा बढेको भन्ने आरोपलाई अस्वीकार गरे ।

 

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.