November 30, 2022

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षीको लर्को

1 min read

पहिलो दल बन्न लागेको नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै संसदीय दलको नेता बन्न रस्साकस्सी शुरू हुने भएको छ । प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण कांग्रेसभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिएका छन् । पार्टी सभापति, महामन्त्रीदेखि पूर्वमहामन्त्रीसम्मले प्रधानमन्त्रीको आकांक्षा देखाएका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताका लागि स्वाभाविक दाबेदार हुन् । प्रधानमन्त्रीको पाँचौं कार्यकालको उत्तरार्द्धमा रहेका देउवाले ‘वाक ओभर’ दिएमा संसदीय दलको निर्वाचनमा अझ रोचक प्रतिस्पर्धा हुनेछ ।

यसअघि २०७४ सालको प्रतिनिधिसभापछिको कालखण्डमा देउवा संसदीय दलको नेता थिए ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि देउवा डडेल्धुराबाट विजयी भएर संसदीय दलको नेता बन्ने योग्यता पूरा गरेका छन् ।

संसदीय दलको नेताका लागि सबैभन्दा पहिलो दाबी महामन्त्री गगन थापाले पेश गरेका छन् । काठमाडौं– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएलगत्तै गगनले संसदीय दलको चुनाव लड्ने तयारी थाल्ने बताएका थिए ।

गगनको प्रयासमा अर्का महामन्त्री विश्वप्रकाशको समर्थन देखिएको छ । प्रदीप पौडेललगायत युवा नेताले गगनलाई समर्थन गर्ने सम्भावना छ । गगनलाई बधाई दिने क्रममा विश्वप्रकाशले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्न चाहेको लेखेका थिए । विश्वप्रकाशको समर्थनले गगनको दाबेदारी बलियो देखिएको छ ।

गगन, विश्वप्रकाशलगायत युवा पुस्ताका नेताले सभापति देउवाले क्रमशः शक्ति हस्तान्तरण गर्नुपर्ने लबिङ गरिरहेका छन् । १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पनि संसदीय दलको नेताका एक सशक्त दाबेदार हुन् ।

कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व अहिले डा. शेखर कोइरालाले गरेका छन् । शेखर पनि मोरङ– ६ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । प्रत्यक्षतर्फ टिकट दिलाउन कोइरालाले पहल गरेका संस्थापनइतरका उल्लेख्य नेताले चुनाव जितेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संसदीय दलको नेताका लागि दाबी पेश गरेका छन् ।
प्रतिनिधि सभाको टिकट पाएलगत्तै पौडेलले अन्तिमपटक चुनाव जितेर देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त गरेका थिए । पौडेलले तनहुँ– १ बाट चुनाव जितेर संसद् यात्रा तय गरिसकेका छन् ।

पार्टीभित्र संस्थापन या संस्थापनइतर कतै नखुलेका पौडेल दुवै पक्षले आफूलाई समर्थन गरोस् भन्ने चाहन्छन् । यद्यपि पौडेलले चाहेजस्तो दुवै पक्षले उनलाई संसदीय दलको नेतामा अघि सार्ने सम्भावना कम छ । आफूलाई सभापतिको सर्वसम्मत उम्मेदवार नबनाइएपछि पौडेलले संस्थापन इतरको नेता बन्ने अवसर गुमाइसकेका छन् । संस्थापनइतर समूहको नेतृत्व अहिले शेखर–गगनले गरेका छन् ।

प्रधानमन्त्रीको आकांक्षा गर्नेमा कांग्रेसका अन्य नेतापनि छन्, त्यसका लागि पहिले उनीहरूले संसदीय दलको नेता जित्नुपर्छ ।पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शशांक कोइरालाले पनि आफूहरू प्रधानमन्त्रीको दाबेदार रहेको बताइसकेका छन् ।

काठमाडौं १ मा रवीन्द्र मिश्रलाई पराजित गरेर सांसद पद सुरक्षित गरेका प्रकाशमानले आफू प्रधानमन्त्रीका लागि सबै हिसाबले योग्य रहेको बताएका थिए । पूर्वी नवलपरासीबाट लगातार चौथो जित हासिल गरेपछि शशांकले आफू प्रधानमन्त्री बन्ने प्रशस्त आधार रहेको दाबी गरे ।

‘म प्रधानमन्त्रीको दाबेदार हुँ, नत्र राजनीति किन गर्ने ? प्रधानमन्त्री बन्ने प्रशस्त आधार छ । चारपटक चुनाव जितेको छु । यो भन्दा बढ्दा के चाहियो ?’ बिहीवार चुनाव जितेपछि कोइरालाले भनेका थिए, ‘राजनीतिक दृष्टिकोणले परिपक्व छु । मसँग साथीहरू पनि छन् ।’ शशांक पनि अहिले कुन कित्ताको भनेर खुलेका छैनन् ।

महाधिवेशनका बेला शेखर कोइरालालाई सभापति बनाउने भद्र सहमतिबाट भागेका शशांकलाई संस्थापनइतरले आफ्नो ठानेको छैन । तर पनि उनले प्रधानमन्त्री बन्ने सपना भने देख्न छाडेका छैनन् ।

शशांक कांग्रेस संस्थापक बीपी कोइरालाका पुत्र हुन् ।नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले संसदीय दलको नेताका लागि गगन थापाले तयारी गरिरहेको बताए । ‘संसदीय दलको नेताका लागि राम्रो तयारी गरिरहनुभएको छ, पछि हट्ने कुरै छैन,’ ती केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।

सभापति देउवा, महामन्त्री थापालगायतले निर्वाचित हुने सांसदलाई आफ्नो फेसबूक पेजमार्फत बधाई दिइरहेका छन् । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि मात्र संसदीय दलको नेता चयन प्रक्रिया शुरू हुनेछ ।

चुनावपछिको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । सत्ता गठबन्धनको बहुमत आउने अवस्थामा पूर्वसहमति अनुसार सत्ता साझेदारी हुने सम्भावना रहेको पनि चर्चा छ । चुनावी नतिजाले त्रिशंकु संसद् बन्ने छाँट देखिएलगत्तै वापमन्थी गठबन्धनको बहस पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Copyright © All rights reserved. | Newsphere by AF themes.