गौरको कपडा पसलमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाले गुमाए ज्यान
1 min read
काठमाडौं । रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ माईस्थान चौकस्थित इस्लाम कपडा डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी भएको थियो ।
आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मो. इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन् । त्यस्तै तीन जना घाइते भएका छन् ।
इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको छ । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ । आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।